माटो


त्यो प्यारो देशमा अनी
त्यो पुर्खेउली भेषमा,
त्यही गाँऊमा अनी
त्यही ठाँऊमा,
सानु !
तिम्रो र मेरो माया बस्याथ्यो ।
माटोको सुगन्ध हामी दुवैमा पस्याथ्यो ।

पहाड- कन्दराहरुको स्वछन्दताको,
शितल सरिता उमङ्गको,
माटो मीठो आफ्नै सुगन्धको,
पतङ्ग-पतङ्ग मुनी उभिएर,
गाएथियौं राष्ट्रीय गान सुरिएर ।
त्यसैमा हैन त सानु !
तिम्रो र मेरो माया बसेको ?
माटोको सुगन्ध हामी दुवैमा पसेको ?
भाका फेरी फेरी गाएका गीत्,
पाखा भरी छरिएका हाम्रा प्रीत्,
सिँउदो भरी माटोको सिन्दुर सङ्गै पहिरिएर,
आकाश भरी देशको झण्डा सङ्गै फैलिएर,
सानु,
तिम्रो र मेरो माया बस्याथ्यो,
माटोको सुगन्ध हामी दुवैमा पस्याथ्यो ।


हे कलाकारहरु हो !!

हे खुल्ला रङ्गमञ्चका जिवित कलाकारहरु हो !!
यदि,
कथा/पट्कथामा नसजाएको भए,
छोडीदेउ अब अभिनय गर्न ।
भर्जिन आक्षेपहरुको नौटङ्की एकाङ्कीहरुमा
मुखुडा फुकाल्दै-लगाउँदै गर्न
गाह्रो भो यहाँ पटक पटक मर्न,
र घाईते हृदय विश्वासमा उभ्याउँन ।

हर चन्द्रमा रोएको रात अनि
काकाकुल उर्लेर कुर्लेको साँझ,
जिउँदै बिझाउँछ यहाँ भयावह बात
र शब्द-शब्दमा पोल्दछ आँत,
जब यहाँ समय-समयमा चल्दछ
आत्मा जोखिने बेफजुल बात ।

हे खुल्ला रङ्गमञ्चका जिवित कलाकारहरु हो !!
यदी सक्छौ भने तिमी,
उहँको चरित्र उतारेर देखाउ
गिर्दै गरेको पत्थरलाई उचालेर देखाउ ।
होइन भने,
ब्यर्थ मञ्चिएर रङ्गमञ्चमा
बेअर्थका सम्बादहरु नलेखाउ ।
सक्छौ भने,
हराएका/बिलाएकालाई खोजेर देखाउ,
होइन भने,
नाप-तौलका असभ्य खेल छोडिदेउ ।
असत्य बन्दै नबोलिदेउ ।

शोक !!

हे प्रिय !! 
आऊ आज, 
यो सुन्सान साँझमा, 
यो सन्नाटामा, 
यो एकान्तमा, 
तिमी र म  
एक्दम सन्तप्त भएर, 
विक्षिप्त भएर, 
वेदनाका प्रलय बगाएर, 
हिक्का-हिक्कामा बिलौना गाएर,  
हामी शोक मनाऊँ । 
तिमी वर्मा र भूटान सम्झेर रोईदेउ, 
म डिग्बोई र आसाम सम्झेर रोईदिन्छु । 
तिमी धने र न्यासुर सम्झेर रोईदेउ, 
म जयमाया र मेरी आमा सम्झेर रोईदिन्छु । 
तिमी नेपाली र भूटानीको  दोधारमा उभिएर रोईदेउ, 
म भूटान, नेपाल र अमेरिकाको त्रीकोण भित्र पसेर रोईदिन्छु । 
तिमी पनि रोउ, म पनि खुब रुन्छु, 
हाम्रो लट्पटिँदै गएको जिब्रोको समाधी छेउ, 
लम्पसार परेर रोईदेउ,  
म हाम्रा विस्थापित सपनाहरुको यादमा, 
छाती कुटी कुटी रोईदिन्छु । 
आऊ प्रिय !! 
हामी शोक मनाउँ । 
तिमी देशको लागी रोईदेऊ, 
म भेषको लागी रोईदिन्छु । 
म तिम्रो लागी शोक मनाउँछु, 
तिमी मेरो लागी शोक मनाऊ । 

अधिक पढिएको