द्वन्द: सपना र मेरो

एउटा...........
अनी अर्को.......
अनी अर्को पछी अर्को गर्दै,
सपनाको लहर,
म बुनी रहन्छु,
म बडाई रहन्छु,
म लहराई रहन्छु ।
मेरो मन,
मेरो हृदय,
मेरो कल्पनामा
अनी मेरो मस्तिष्कमा ।

म सपना देख्छु, बुन्छु अनि सजाउँछु,
सपनाहरुको महल बनाउँछु,
सपनाहरुको बगैंचा सजाउँछु,
सपनाहरुको सञ्जाल फैलाउँछु ।
लाम्बद्ध,
एक पछी अर्को,
रङ्गि-बिरङ्गी ।

तर,
सपनाहरु आन्दोलनमा छन् ।
मेरो स्वप्निल सञ्जालको कैदखानाबाट
उन्मुक्ती पाउँने नारा लाईरहेछन् ।
मैले देखेको सपनाको परिधिलाई
नाँघेर जाँन पाऊँ भन्छन् ।
मेरो परिकल्पनाबाट स्वतन्त्र भएर,
उडी रहन पाऊँ भन्छन् ।
मलाई निरङ्कुश, तानाशाही
अनि नानाथरी भन्छन् ।

तर,
के मैले सपना देख्नु मेरो गल्ती हो ? ?
के मैले कल्पनामा रमाउनु मेरो गल्ती हो ??
के मलाई सपना देख्ने अधिकार छैन ? ?
के मलाई कल्पनामा हराउन अधिकार छैन ??

अब,
हे  मेरा सपनाहरु हो !
म जुनदिन मर्नेछु,
त्यसदिन मेरो मन मर्नेछ,
मेरो मस्तिष्क मर्नेछ,
मेरो हृदय पनि मर्नेछ ।
अनी तिमीहरुले,
मेरो मृत्युसङ्गै आजादी पाउँनेछौ ।
मैले बुनेको सञ्जालको पर्खाल तोडेर
 स्वतन्त्र भई उम्कने छौ ।

जब सम्म,
म जस्तै अर्को कसैले
फेरी तिम्रै सपना देख्दैन,
जब सम्म,
म जस्तै अरू कसैले
उसको कल्पनामा तिमीलाई सजाउदैन,
तब सम्म,
तिमी स्वतन्त्र हुनेछौ ।
हो, तिमी स्वतन्त्र हुनेछौ ।

No comments:

Post a Comment

अधिक पढिएको