पेमाडाँडाको मूलबाटो हुँदै
आफ्नै मौनतामा मस्त,
सुस्ताई रहेको गाऊँलाई
"भो......ली भे.........टा* ..... है.... !!" भन्दै
चर्को स्वरमा ऊर्दी लगाउँदै
सारा गाऊँलाई बिउँझाउंथे
मुक्तियार-सिरुपाली बाबै,
तब,
सिङ्गो गाऊँ जाग्थ्यो ।
जोश जाँगरको पोको,
आफ्नो खेतलाई सिन्चने धोको,
लाग्थे सबै भेटा* तर्फ ,
सबै मनाउदै खुशी र हर्क ।
यो फिरङ्गी मुलुक मेरो,
आशा भरोसाको खेतमा
एक पुस्ताको आयु बोकेर
अन्तिम घुट्को स्वास फेर्दै,
धरासयी बनेको मेरो मातृभाषा
आज,
तीनै मुक्तियारको पर्खाईमा छ ।
घर-घरमा, परिवार-परिवारमा, देश-बिदेशमा,
फेरी एक पटक ऊर्दी लगाउने
तर,
भेटाको* होईन,
भाषा-प्रेमको मूल फुटाउने,
नेपाली साहित्यस्तरलाई उठाउने,
सिरुपाली बाबै,
मलाई फेरी चाईयो ।
ऊर्दी लगाउने,
एउटा मुक्तियार चाईयो !!
एउटा मुक्तियार चाईयो !!
*भेटा = सिन्चाई कार्यको लागी नदिबाट पानी थुनेर ल्याउने कार्यलाई भेटा भनिन्थ्यो दैफाममा । सायद यो अखमिया भाषाबाट आएको शब्द हुनुपर्छ ।नेपालमा हो भने पैनी फर्काउनु भनिन्छ ।

No comments:
Post a Comment