
मुट्ठी भरि माटोको सुगन्ध,
अनि,
हृदय भरी देशप्रेमको छहरा बोकी,
स्वतन्त्र आकाशको पतङ्ग खोज्दै,
विश्व-भुगोलभरी नचिनिएकी जयमाया,
कहाँको माटोमा मेरो मातृभुमी रमाउँछ भन्दै
बर्मादेखी लिखापानी हुँदै,
गोर्खादेखी सिब्सू-साम्ची र चिराङ्ग हुँदै,
ब्रम्ह्पुत्रको किनारदेखी फाक्-फोकसम्म हुँदै,
बेल्डाँगिदेखी कोलम्बससम्म आईपुगेकी जयमाया,
ईन्द्र बहादुर राई, कृष्ण धराबासी र निशा लीला
लाई सोध्छिन्,"मलाई अझै कती हिँडाउछौ ?"
"मलाई अझै कती दुख दिन्छौ ?"
यात्राको क्रममा तीनले देखिन्,
धनेको हालत तेस्तै छ,
न्यासुर कान्छाको पनि उस्तै छ ।
अन्तरमनमा कस्तो थियो कुन्नी ?
बरु रिकुटेहरु रमाएको भेटिन ।
'बिसे-नगर्ची सङ्ग
अलिकती अर्ती पैंचो मागौं भन्दा-भन्दै
त्यो एक मुट्ठी माटो कहाँ रखौं हुँदा-हुँदै,
अर्को बज्र आईपर्यो,
भाषा नै बिलाउला जस्तै भयो ।
युगौं देखिको
माटोको कथा, वेदनाका व्यथा
कसरी बिसाउँ मेरी नव-पुस्ताकी जयमायालाई ?
गन्तव्यको खोजिमा
हिँडाईएकी/हिँडेकी जयमाया
अब कोलम्बस देखी कहाँ जानु पर्ने हो,
पुकारिन जयमायाले- " हे प्रभु! म किन नेपाली हुँ ? ?"
No comments:
Post a Comment