नानीलाई हैंसे

बुडो पडारीको रुख,
वर्षौं देखी बारिको काल्नामा,
गजधम्म सुरक्षा उभिएको छ ।
सिमलटारलाई अँईचेर
गैरिखेतमाथी जो सधै नजर राख्दछ ।

आँधि-तुफान, झरी-वर्षात र चर्को घाममा पनि
कदाचित ऊ डग्मगाएन ।
दाउरेले छानि-छानी हाँगा गिँड्छन्,
घाँसिले गनि-गनी मुना निमोठ्छन्,
तर ऊ कहिल्यै रिसाएन ।
शितल, सुरक्षा र छहारी उसको धर्म,
उसले कहिल्यै बिराएन ।

नानी,
हजुरबा ढलेको साल,
अनी बा गलेको साल,
मझेरीमा लम्पसार परी
त्यो पडारीलाई अंगालेर
म खुब रोएथें ।
   खुब रोएथें ।. .........

आज तिमी चड्दैछौ, बड्दैछौ,
'अनउ' तिम्रो हातमा छ,
केवल अघी मेलोमा हेर,
पछाडी त्यै पडारी म खडा छु ।
सधैं तिमी अघी बड,
नानीलाई हैंसे !
त्यो बुडो पडारी म खडा छु ।

म जयमायाको सन्तान हुँ !

ममताको फेदिमा उभिएर,
राष्ट्रियताको शिखरसम्म चड्न तयार,
आफ्नै भुगोलको देशान्तर र अक्षाम्समा अल्झिएर,
एउटा महादेश देखी अर्को महादेशसम्म,
बुर्कुसी मार्दा-मार्दैको
म आदिम पुरुष अनि तिमी मेरी हब्बा,
तथ्य नमिलेको साद्ध्य झैं
व्याकरण नमिलेको संघर्षमा,
हामी कहिले सम्म बल्झी रहने छौं ?

हो! हामी हर्दम पिल्सी रहनेछौं,
तर कदाचित तिमीले
आईय्या..........,  आत्थाह.......... नभन्नु,
किनभने,
म जयमाया को सन्तान हुँ !

टिस्टा-रङ्गित देखि
किल्ला-काँगडा र सत्लुज सम्म
उदाउँन सक्ने हामी,
आज पोछु र मोछु देखी हारेर,
मानस र धन्सिरी देखी भागेर,
यहाँ, डोरिको सहारा म पक्कै लिन्न ,
किनभने,
 म जयमायाको सन्तान हुँ!

द्वन्द: सपना र मेरो

एउटा...........
अनी अर्को.......
अनी अर्को पछी अर्को गर्दै,
सपनाको लहर,
म बुनी रहन्छु,
म बडाई रहन्छु,
म लहराई रहन्छु ।
मेरो मन,
मेरो हृदय,
मेरो कल्पनामा
अनी मेरो मस्तिष्कमा ।

म सपना देख्छु, बुन्छु अनि सजाउँछु,
सपनाहरुको महल बनाउँछु,
सपनाहरुको बगैंचा सजाउँछु,
सपनाहरुको सञ्जाल फैलाउँछु ।
लाम्बद्ध,
एक पछी अर्को,
रङ्गि-बिरङ्गी ।

तर,
सपनाहरु आन्दोलनमा छन् ।
मेरो स्वप्निल सञ्जालको कैदखानाबाट
उन्मुक्ती पाउँने नारा लाईरहेछन् ।
मैले देखेको सपनाको परिधिलाई
नाँघेर जाँन पाऊँ भन्छन् ।
मेरो परिकल्पनाबाट स्वतन्त्र भएर,
उडी रहन पाऊँ भन्छन् ।
मलाई निरङ्कुश, तानाशाही
अनि नानाथरी भन्छन् ।

तर,
के मैले सपना देख्नु मेरो गल्ती हो ? ?
के मैले कल्पनामा रमाउनु मेरो गल्ती हो ??
के मलाई सपना देख्ने अधिकार छैन ? ?
के मलाई कल्पनामा हराउन अधिकार छैन ??

अब,
हे  मेरा सपनाहरु हो !
म जुनदिन मर्नेछु,
त्यसदिन मेरो मन मर्नेछ,
मेरो मस्तिष्क मर्नेछ,
मेरो हृदय पनि मर्नेछ ।
अनी तिमीहरुले,
मेरो मृत्युसङ्गै आजादी पाउँनेछौ ।
मैले बुनेको सञ्जालको पर्खाल तोडेर
 स्वतन्त्र भई उम्कने छौ ।

जब सम्म,
म जस्तै अर्को कसैले
फेरी तिम्रै सपना देख्दैन,
जब सम्म,
म जस्तै अरू कसैले
उसको कल्पनामा तिमीलाई सजाउदैन,
तब सम्म,
तिमी स्वतन्त्र हुनेछौ ।
हो, तिमी स्वतन्त्र हुनेछौ ।

त्यो क्षण !!

हे कान्छा...... !
त्यो क्षण अझै सम्झना छ,
मन नपराएझैं गरेर,
"ए काली ! ए नखर्माउली !", भन्थ्यौ ।
तर,
आँखाका कुना कुनाबाट,
मेरा अवयवहरु चिहाई रहन्थ्यौ ।
म,
देखेर पनि नदेखेझैं गरी,
तिम्रा बलत्कारी नयनका हेराईमा,
आफु बलत्कृत भएको आनन्द लिईरहन्थें ।

थाहा छ तिमीलाई.....??
उष्ण-उष्ण समतल म उम्लिरहें,
छङ-छङे खहरे तिमी उर्ली रहयौ ।
नजरै-नजरमा अनि मुस्कानै-मुस्कानमा
म तिम्री अनि तिमी मेरो हुन्थ्यौ ।
म तिम्री कोहिनूर अनि तिमी मेरो शाह जाँ' हुन्थ्यौं ।

मबाटै बिस्थापित मेरा आकाङ्क्षाहरु,
तिम्रै आँखाका प्रस्तावनामा तिर्खाई रहे,
आज सर्वस्व गुमाएर पनि,
        सर्वाङ्ग लुटाएर पनि,
किन हो किन, पल तिनै मीठा भए  ।
हे कान्छा...... !
त्यो क्षण अझै सम्झना छ ।

संसार र वहाँ

संसार भन्छ,
"आईज,
तँ र म,
एउटा खेल खेलौं ।
तँ मेरो शिकार गर,
म तेरो शिकार गर्छु ।
तँ मलाई ठोक,
म तँलाई ठोक्छु ।
जसले पहिले हान्छ,
उसैले जित्छ ।
जसले पहिले मार्छ,
उसैले जिउँछ ।"
वाह !!
संसारै जितै जितको ।

तर,
उहाँले भन्नु हुन्छ,
"तँ पनि प्रेम गर,
म पनि प्रेम गर्छु ।
तँ माया गर,
म दया गर्छु ।
तँ दुवै हात फैला,
म आशिष बर्षाउँला ।

वाह !!
संसारै  भरी प्रीतै प्रीत,
अनी सबैको जितै जित ।

म हुस्सुको बकितम

यदी फलवन्त वृक्ष हौ तिमी भने,
झुक्नु पर्छ हरेक हाँगा तिम्रा,
भरिएर फलले लटरम्मै ।

सिँगौरी खेलेर के गर्छौ र ?
सुकेर खँग्रङ्गै आफ्नै अहमले,
ऊ त खग्ग्रास वृक्ष न हो,
झुक्दैन नभए पछी वजन फलको ।
भाँचिन्छ भने बरु भाँचियोस्,
बिखल्बन्द परी एकदिन नासियोस ।

ज्ञानले भरिपुर्ण विज्ञ हौ तिमी,
सक्छौ भने मारी त हेर गुणले,
डाह र ईर्ष्य होईन राम्रो रत्ती पनि,
जानी राखौं यो सबै सज्जनले भनी,
गर्छु बिन्ती सबैमा लगायत मै पनि ।
हुस्सु हुँ मै पनि, ताती हाल्छ कन्सिरी बेला बखत,
खुब अर्ती दिंदो भएँ , नमान्दिनुहोस झन्झट फगत ।

रमिता

खै....... ? ?
कसले,
कसको,
पानी छोयो रे !
खै .........? ?
को,
कसको,
घर भित्र पस्यो रे !

पक्कै पनि,
मान्छे नै हुनु पर्ने
मान्छे जस्तै,
एक हुल बसेर,
के के पडिरहेका थिए
चिराग-फुलको वरिपरि ।

उनिहरु पनि हेरी रहेका थिए,
तीनीहरु पनि देखी रहेका थिए ।
कसैले केहि भनेको देखिएन ।

पर अलग्गै बसेर,
रमिता हेरी रहेका बाबैले,
खुईय्या...... !!  सुस्केरा तानेर भने,
"खै !  यो जातमा के छ कोनी ?
कहिल्यै बुझ्न सकिएन ?"

Why not ???

Why not ?
Why not, do you think,
I can grow and live ?
Grow ??
Yeh !! grow like you did,
And,
Live like everyone did?

I know,
No signs pertain on my face,
That shows caste, creed and race.
What matters??
Wether you're black,  brown or red ?
Flesh of flesh and blood of blood,
Every human  has got red and red.

Why not ??
Why not,  do you think,
I can stand up and fly ?
Stand up ??
Yeh !! Stand up and fly with respect,
And,
Live in freedom in all aspect.
Equal to every humans' respect.

पैरो

छचल्किँदै,
छचल्किँदै,
आँसुका समाधिहरु,
विक्षिप्त ह्रदयहरु
भग्न सपनाहरु बोकि
पैरो झर्यो,
परेलिका डिलहरुबाट,
विखण्ड समाजलाई सराप्दै सराप्दै ।

सानो साथी

मेरो एउटा सानो साथी छ ।
अरु भन्दा ऊ धेरै जाती छ । ।

लोभ लालच केहि पनि जान्दैन ।
सानो ठुलो केहि पनि मान्दैन । ।

खुसी हुँदा मज्जाले हाँसिदिन्छ ।
हात खुट्टा हल्लाएर नाँचिदिन्छ । ।

कसैले बोकी दिए खुशी हुन्छ ।
नत्र भने ऊ दुखी भई सारै रुन्छ । ।

यो ब्रह्माण्ड तिम्रै भो, खुशी मलाई देऊ ।
संसारलाई  जिती पराक्रम तिमी लेऊ । ।

फुलको थुंङ्गा भन्दा सयौं गुणा राम्रो ।
बड्दै जाऊ,  शुभकामना तिमीलाई हाम्रो । ।

अस्तित्व

एउटा,
सयपत्रीको थुँगो,
एउटा थुम्कोबाट अर्को थुम्को,
एउटा आँगनबाट अर्को आँगन,
एउटा हारबाट अर्को हार हुँदै,
सर्दै / सार्दै.....
सर्दै / सार्दै.....
जिवनभरको यात्राबाट थकित भएर,
आज दोबाटोमा उभिएको छ ।

अन्योलको हाँसो बोकेर,
पत्र पत्र पल्टाउँदै........,
           केलाउँदै........ ,
आफ्नो सुगन्धलाई खोज्दै छ ।
आफ्नो गन्तव्यलाई रोज्दै छ ।
अनि आफ्नो अस्तित्वलाई जोख्दै
आज दोबाटोमा उभिएको छ ।

प्रहार

आकाश,
रगताम्मे मुहार बनाएर,
बलिन्द्र पसिना स्वखलन गराउँदै
पोखिई रहेछ, तिमी मान्छे जस्तै
कर्मशिल उत्तेजनामा ।

धरती ,
समतलमा उत्तानो परेर,
कृडाकी मैंया झैं,
आनन्दको अनुभुती लिई रहेछ,
प्रतेक पिँडाका दर्दहरु सहँदै ।

क्षितिज,
आकाश र धर्तिको समागममा,
बिनासित्ती हुर्किएको भ्रुँण बोकेर,
जिन्दगी भरी अभावका शुलहरु
छातिमा प्रहार गरिरहन्छ ।
          .........गरिरहन्छ ।

कविता: प्रार्थनाको

मलाई थाहा छ प्रभु !
मलाई विश्वास छ प्रभु !
ती तपाईको शरिरबाट,
तप्  तप्  चुहिएका,
प्रतेक बुँद बुँद रगतमा,
                    प्रेम छ,
                    जिवन छ,
                    चङ्गाई छ ।
तेसैले प्रभु,
तिनै रगतका छिर्काहरुले,
प्रतेक घर-घरानामा,
प्रतेक ढोका ढोकामा,
प्रतेक कोठा कोठामा,
प्रतेक रोगिहरुको शरिरमा,
छिर्कदछु,
लिप्-लोत्, गर्दछु,
तपाई यसुको नाऊँमा,
        यसुको नाऊँमा,
        यसुको नाऊँमा ।
                     .........आ.....मे.....न.......

अन्योल

तिमीलाई थाहा छ ?
यो जङ्गलामा,
यो डाँडामा,
बार्दलिको कौसी रुङ्ग्दै,
फुस्-फुस सेताम्मे
हिम-वर्षालाई नियाल्दै,
रतुवा बगर भरी पोखिएको
न्यानो घामको समझना,
तातो कफिमा घोलेर,
सुर्की लगाउँदै छ जेठो,
बेल्डाँगी र ओहायोलाई
एक एक हत्केलामा राखि,
अन्योललाई सुल्झाउँन खोज्दै,
फेरी अन्योलमा डुब्छ जेठो ।

विगत

एक,
सुनसान,
मध्य रातमा,
खित्का छोडि-छोडी हाँसिन उनि,
कोकिल कण्ठ गुन्जियो,
हाम्रा प्रतेक सम्वादहरुमा ।

एक,
सेफद,
शितल चाँदमा,
छम्-छम् पाउजुको तालमा,
कम्मर मर्काई-मर्काई नाचिन उनि ।
नर्तकी मयुरको तरङ्ग छल्कियो,
बेकम्मा हाम्रो अङ्गालोमा ।

एक,
नसालु,
वैंशालु नजरमा,
बल्झी-बल्झी भयो छेदन कटाक्षले,
तिलस्मी त्यो जोवनको करौतिमा ।

उनको कल्पनामा,
मेरो सम्झनामा,
माधुर्य मीठो, माया उसको रुपको,
बिउँझन्छ बिगत हाम्रो पल-पलमा ।

अधिक पढिएको