एउटा मुक्तियार चाईयो

जब,
पेमाडाँडाको मूलबाटो हुँदै
आफ्नै मौनतामा मस्त,
सुस्ताई रहेको गाऊँलाई
"भो......ली  भे.........टा*   ..... है.... !!" भन्दै
चर्को स्वरमा ऊर्दी लगाउँदै
सारा गाऊँलाई बिउँझाउंथे
मुक्तियार-सिरुपाली बाबै,
तब,
सिङ्गो गाऊँ जाग्थ्यो ।
जोश जाँगरको पोको,
आफ्नो खेतलाई सिन्चने धोको,
लाग्थे सबै भेटा*  तर्फ ,
सबै मनाउदै खुशी र हर्क ।

यो फिरङ्गी मुलुक मेरो,
आशा भरोसाको खेतमा
एक पुस्ताको आयु बोकेर
अन्तिम घुट्को स्वास फेर्दै,
धरासयी बनेको मेरो मातृभाषा
आज,
तीनै मुक्तियारको पर्खाईमा छ ।

घर-घरमा, परिवार-परिवारमा, देश-बिदेशमा,
फेरी  एक पटक ऊर्दी लगाउने
तर,
भेटाको*  होईन,
भाषा-प्रेमको मूल फुटाउने,
नेपाली साहित्यस्तरलाई उठाउने,
सिरुपाली बाबै,
मलाई फेरी चाईयो ।
ऊर्दी लगाउने,
एउटा मुक्तियार चाईयो !!
एउटा मुक्तियार चाईयो !!

*भेटा = सिन्चाई कार्यको लागी नदिबाट पानी थुनेर ल्याउने कार्यलाई भेटा भनिन्थ्यो दैफाममा । सायद यो अखमिया भाषाबाट आएको शब्द हुनुपर्छ ।नेपालमा हो भने पैनी फर्काउनु भनिन्छ ।

आजको युद्ध !!

चेतनाको चैतन्य
अचेत भएर चेत बोल्दछ ।
----------
इर्ष्यका घमण्डहरु
मपाईत्व बोकेर अहम बोल्दछ ।
----------
युद्ध र योद्धा
आफै सङ्ग्राम बनेर
पराजय विजय बोल्दछ ।
---------
साहित्य र स्रस्टा,
सृजना र सर्जक,
मतभेद र विभेदमा
विक्षिप्त विखण्डन बोल्दछ ।
अनि
नैरास्य पनि नि-रस निरास बोल्दछ ।

झन्जट

महङ्गी कती बडाउँछौ तिमी,
        यहाँ खल्ती चुहिएको बेला ।

शान कती लडाउँछौ तिमी,
       यहाँ इमान नुहिएको बेला ।

चुचुरा कती छुन्छौ तिमी,
       यहाँ सपना तुहिएको बेला

माया कती लगाउँछौ तिमी,
       यहाँ मित्रता कुहिएको बेला ।

असत्य कती बोल्छौ तिमी,
       यहाँ आन्द्रा-भुँडी दुहिएको बेला ।

किन कि ऊ मेरो दुश्मन हो !

कहिले कहि,
बेला मौका पारी,
एकान्तमा बसौंन भन्छ,
भला-कुसरीको निहु गरी
छल र कपट सरी
मेरो भित्री हृदयमा
सुटुक्क पसौं न भन्छ,
किन कि ऊ मेरो दुश्मन हो !

करासामा बसेर,
निग्रानीको नजर ताकेर,
म दुखेको बेला
झुटो सान्तवना बोकेर,
म चुकेको बेला
झुटो आश्वसन बोकेर,
सधै मलाई नियाल्दछ ।
मैले बिराएको बेला,
अरुले गिराएको बेला,
ऊ सधै नियाल्दछ ।
किन कि ऊ मेरो दुश्मन हो !!

कोल्रेन * (Colerain)

मन गाडेर बस्न पनि
त्यसै बिरानो लाग्ने,
छोडेर अन्त कतै जान पनि
यतै  मन अल्झी रहने,
खै,
यो ठाँऊ कस्तो हो कोनि,
बाँकी जिवन त त्यस्तै हो
आज हो कि भोलि ?
यही कोलोरेन् कै भो कोसेली ।

बिरानो लाग्द-लाग्दै,
पुरानो भैईयो ।
जान्दा-नजान्दै
सेतै हिँऊको थुप्रो र
रङ्गि-बिरङ्गी पातहरुमा
पिरतिको साईनो लाईयो ।
सानो मनको सानै शहर,
गोलन्टी **  नै नभए पनि
मेरै कोलोरेन रमाईलो ।


*कोलोरेन् (COLERAIN)- ओहाईयो( Ohio) राज्यको सिन्सिन्नाटी (Cincinnati) शाहरको एउटा सानो गाँऊ जहाँ मेरो बास स्थान छ ।

**गोलन्टि (GOLANTI) - दैफाम भुटानको एउटा सानो गाँऊ जहाँ मेरो बाल्यकाल बित्यो, जहाँ मैले सन्सार चिंने ।

अब देखी

कृपया,
अब देखी मेरो चिन्ता नलिनु,
म त सधै त्यही हुन्छु,
जहाँ,
आफ्नो बिरानो रोजिदैन,
सन्चो-बिसन्चो सोधिदैन ।

कृपया,
अब देखी मेरो फिक्री नगर्नु,
म त सधै त्यही हुन्छु,
जहाँ,
जात र आस्था सोधिदैन,
माया र प्रेममा स्वार्थ बोकिदैन ।

कृपया,
अब देखी मेरो हाल नसोध्नु,
म त सधै त्यही हुन्छु,
जहाँ,
खुसी र आनन्दले मन भरिन्छ,
महिमा र प्रशंसा सधै गरिन्छ ।

मेरो माया

मेरो माया ? ?
.............
मेरो माया त
उसैको छाँयामा छ ।
प्रकाशै प्रकाशमा खुलेर हिँडे पनि भयो ।
शितल भित्र लुकेर हिँडे पनि भयो ।

मेरो माया त
उसैको हातमा छ,
कर्कौंलाको पातमा छ,
अनी अतृप्तिको मातमा छ ।

गोठालामा गोट्टी खेले झैं
बुरुक्-बुरुक्क उफारे पनि भयो,
कर्कौंलाको पात काटेर
वर्सातमा छाता ओडे पनि भयो,
उन्मादमा उम्लेर तृप्त भए पनि भयो ।
आखिर,
मेरो माया त
उसैको छाँया हो ।

अंश

मेरो छोरा.... !!
धेरै अबेर गरेउ तिमीले ।

तिमीलाई अंश दिँउला भनेर
जतन सङ्ग लुकाई राखेको,
कसैलाई नदेखाई राखेको
मेरी आमाको जिब्रो,
चुडिएर एक पछी अर्को गर्दै
मिसिएर एक देखी अनेक हुँदै
आजै शब्दकोष रित्तिइ सक्यो
खै कसो होला भोली  ??

तिमीलाई अंश भनी
मेरो नजरभित्र छुपाई राखेको
मेरो हृदय भित्र लुकाई राखेको
एउटा पुरानो तस्बिर मेरै गाँऊको
मैले भाँडा-कुटी खेलेको ठाँऊको
मलाई दाइजो मेरै बाउको
आजै रोगन उडिसकेछ
खै कसो होला भोली ?

मेरो छोरा.... !!
धेरै अबेर गरेउ तिमीले....

मेरो छाती भित्रको पुरानो सन्दुकमा
खिया पेरिसकेको नेपालिपन्
त्यस्तै छ कि छैन अझै कोनि
खोली हेर्नु , त्यही हो तिम्रो अंश.... !!

यो ओछ्यान कहिले उठ्दैन

यो ओछ्यान कहिले उठ्दैन !
कहिले उसको हुन्छ,
अनि कहिले मेरो हुन्छ,
तर कहिले हाम्रो हुँदैन ।

तातो छ,
न्यानो छ,
अनी प्यारो छ ।

रातभरिको म्यासिनसँगको कुस्तिलाई
यही ओछ्यानमा मात्रै बिसाउन पाईन्छ ।

निद्रा मार्नै पर्ने,
थकान झार्नै पर्ने,
त्यसैले
निर्जिव सिरकलाई अङ्गालो हाल्दै
'लेबर डे' कहिले आउला भन्दै
उत्तेजनालाई होईन भुत्तेजनालाई
सम्हाल्दै निदाई दिन्छु फुस्स ।
यो ओछ्यान ,
कहिले उसको हुन्छ,
अनि कहिले मेरो हुन्छ,
तेसैले कहिले उठ्दैन ।

निद्रा पुगेको नपुगेको
कुनै सरोकारै भएन,
बेलुकी नौ बजे पछि
त्यो ओछ्यान आफ्नो रहेन ।

उनी पनि पुक्लुक्क लड्दिहुन्
'लेबर डे' कहिले पर्छ भनि
भित्ते पात्रो सधै हेर्दिहुन ।

घर छ,
परिवार छ,
ओछ्यान छ,
अनी जीवन छ
तर केवल आधा-आधा ।
तेसैले यो ओछ्यान्
कहिले उसको हुन्छ
अनि कहिले मेरो हुन्छ
त्यसैले यो ओछ्यान कहिले उठ्दैन  ।

वाद

तपाई तान्दै गर्नुहोस्,
तपाई छान्दै गर्नुहोस्,
तपाईं केलाउनुहोस या खेलाउनुहोस्,
तपाईं मिलाउनुहोस या जिलाउनुहोस्,
आखिर 'वाद' न हो !
आज यो छ भोली को छ,
तेसैले वाद जिन्दवाद !

तेरो-वाद, मेरो-वाद,
तपाईं-वाद, मपाई-वाद,
गाली-वाद, जालि-वाद,
आयो-वाद, गयो-वाद,
सबै.. सबै.. सबै.. वादहरुलाई
पेपर स्रेडरमा हालेर
झुरा झुरा पारेपनी हुन्छ ।
पृथक-पृथक दृष्टिको फ्रेममा सजाएर
साहि
त्य-आकाशको
वारदलिमा सजाएपनी हुन्छ ।
तेसैले वाद जिन्दवाद !

नववर्ष

परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै,
रजस्वलामा आमैले बोकेको टाटा झै,
दिन प्रतिदिन गर्दै
मनका पानामा उब्जेका
कलुषित भावनाहरु,
बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु
लत्पतिएर पोतिएका दागहरु
मेटाउँदा मेटाउँदै
भित्ताका पानाहरु सँगै
स्मृतिका पानाहरु
प्रतेक महिना पल्टाउँदा-पल्टाउँदा
नयाँ प्रतिबद्धताहरु सँगै
पुराना कम्जोरिहरु बोकेर
गयो बृद्ध २०१६ साल,

आयो २०१७ - नयाँ साल ।

नयाँ साल पनि खासै नयाँ लागेन !
उहि दिन, उहि रात,
उहि म्यासिन, उहि दर र घर,
एकाध शुभकामना बाहेक अरु केहि भाकेन ।
योजनाहरु सबै फुलेर परियोजना भए,
हुनु नहुनुको औचित्य त्यतिकै रहे ।

बरु,
हिँजो भन्दा आज
दुइवटा बडी कपाल पाक्यो,
चाउरीन थालेको मुहारमा
सर्वाङ्ग मुजाले ढाक्यो ।
"चिरन्जिबी भएस्" भनेका आयु
दुई पल अरु घट्यो ।
प्रतिबद्धताहरु,
वाद्ध्यताहरुले  चेप्टिएर,
अमुर्त चित्रकलाका रेखाहरुझैं
आकृतिको अड्कल गर्नु पर्ने भो ।

पोर साल भित्तामा आएको,
नववर्ष २०१६ साल्,
भित्तामै बुडो भएर गयो,
फेरी नववर्ष २०१७ लाई
भित्तो हस्तानन्तरण गर्दै बिलायो ।

आज प्यारो लागेको जीवनपनि
भोली त्यसै गरी बिलाएर जाने हो,
दुई-तीन दिनको शान्तावना सेवा,
एकाध श्रद्धान्जली र
दुई-चार आँसुका तप्कनीहरु बाहेक्
कसैलाई केहि फरक पर्दैन कतै ।
तेसैले तपाईलाई पनि,
शुभकामना नववर्ष २०१७ सालको ।

आमा

आमा र माया
अनि
माया र आमा
यी दुवै एकै हुन ।

भाँडो रितिँदा
"तिमी खाऊ नानि,
मलाई भोक लागेको छैन," भनी
भोक लुकाउने ति
आमा र माया
अनी
माया र आमा
यी दुवै एकै हुन ।

रुँदै-कराउदै
गल्लि-गल्ली चहार्दै
"खोई मेरो राजा" भन्दै खोज्ने
तिमी जस्तै आमा मर्यम हुन्,

मर्यम जस्तै आमा तिमी हौ ।

बार हातको पटुकी कसी
प्रेमको छाती चुसाउने
आफ्नो इच्छालाई मासी
सृष्टिलाई उब्जाउने
आमा र माया
अनि
माया र आमा
यी दुवै एकै हुन ।

खाँदा-खाँदैको गाँस
थपक्क त्यहिँ राखेर
"सिक्सिको लागो होला
मेरी रानिलाई" भन्दै
आची धोईदिने ति
आमा र माया
अनि
माया र आमा
यी दुवै एकै हुन ।

तिमी डराउदा, तिमी कराउदा
सहानुभुती र ममताका स्पर्ष दिने हातहरु
तिमीले आज छोएर हेरेका छौ ?
तिमीले आज नियालेर स्पर्ष गरेका छौ ?

तिमी हाँस्दा, तिमी रुँदा
जिउँने उर्जा सरि चुम्बन दिने
ती नरम र प्यारा ओठहरु
आज चाउरिएर फाटेका छन्,
के तिमीले छोएर हेरेका छौ ?
..............................छौ  ?

प्रेम

मुटु,
मासुको डल्लो,
सवार जिन्दगीको
रगतले भरिदिए
भुटन मीठो उबेला
शितन 'ऊ' जिन्दगीभरलाई ।

मुटु,
पत्थरकै होस्
प्रेमले भरिदिए
हृदय प्रेमिल जगतमा,
मनोरम 'म' जिन्दगीभरलाई ।

चिसो,
कठ्याङ्ग्र्याउँदा पनि
अनुभुती कता कता मीठो ।
विर्यले खुन,
खुनले नाता,
नाताले जिवन ।
भुत र भविष्य,
वियोग र सङ्गम्,
माया नै मीठो ।

व्यथा त कथा भो,
कथा नै व्यथा भो,
मुटु र माया
हृदय र प्रेम्
'ऊ' र ' म'
वियोग र सङ्गम्
प्रभु, तपाई नै जान्नुहुन्छ,
मलाई बाँध्नुहोस्
तपाईकै प्रेममा : रगतले ।

खोई मेरो साईमोन ??

कागुनिको च्याँख्ला,
भोक भरिको मीठो,
माली गाईको मोई
जीवन भरिको तृष्णा,
ढकमक लालिगुँरास तिमी
कुलागाँङ्ग्री भरी फुली रहयौ ।
आँगन भरि
स्वागतको बिस्कुन फिँजाएर
तराई भरी बारिका काल्नाहरुमा
कल्बरीको निस्वार्थ माया सम्झी
अनन्त अनन्त म हाँसी रहें ।
कागुनिको छाँया
मञ्जरी भरी साँची रहें ।

जैतुन पहाडको उचाई सङ्गै
चुलिएको मेरो आस्था
कल्बरी सम्म पुगेर हेरें ।
तप्  तप्  चुहिएका तप्कनिहरु
भनेर वर्षिउन मेरै छाती भरि,
थापी दिँए प्याला जीवनको
तर खोई मेरो साईमोन ?
म खोजी रहेछु
कुलागाँङ्ग्री र जोमोल्हरी भरि,
अमेरिकाका अगुवा र मण्डली भरि ।

जिन्दगी र सपनाहरु

यी तुहिँदै ब्युँतिदै गर्ने सपनाहरु सङ्गै
मर्दै जाग्दै गर्ने यो जीवन पनि
रङ्गमन्चका शङ्ग्राहलय भरि
टाटे-पाङ्ग्रें पार्दै सजाउँला भन्थें,
उसले अलिकती माग्यो
लौ न त भनी दिईहालें ।
फेरी अर्को उसले पनि माग्यो
उसलाई पनि उब्रे-पाब्रेको
सिला साङ्ग्लो गरी दिईहालें ।

एक जोडी सपनाहरुको
भरखरै मात्र्
दाह-संस्कार सकेर आएथें,
अब,
फेरी कती सपनाहरुले
जन्म लिनु पर्ने हो ?
अनी कती तुहिनु पर्ने हो ?
यो मरेर बाँचेको जीवनले
फेरी कती चोटि
मर्दै बाँच्दै गर्नु पर्ने भो ।
यो मन सँधै
घाईतेको घाईते नै रहने भो ।

अधिक पढिएको