तिक्तता

 एक थुँगा क्षितिज बोकी ल्याएर
मझेरी भरी सजाउँछु भनेको थिए ।
तिम्रै मीठो बोली ल्याएर
जिन्दगीको गीत भरी बजाउँछु भनेको थिए ।
क्षितिज पारी पारी उडि हिँड्ने सपनाहरु
अगालो भरी सुम्सुम्याएर रमाउँछु भनेको थिए ।
तिमीलाई छाती भरी टाँसेर
आफु भित्र भित्रै सर्माउँछु भनेको थिए ।
जब विपरित दिसामा हुरी चल्दछ,
यात्रामा भेटिएका हरेक पात्रहरुले
अमृतमा विष घोल्दछ,
जिन्दगी बल्झेको घाउ झैं पोल्दछ ।

नयाँ कथा

मलाई.......
अब एउटा नयाँ कथा पढ्ने रहर छ ।

धेरै पढिए गजे घले र
किल्ला काँगडाको कथा ।
धेरै सुनिए छाउगोठमै
बलात्कृत नारीको व्यथा ।
धेरै पढिए मुग्लान भासिएका
धने र न्यासुरहरुको कथा ।
धेरै लेखिए देश र राष्टृयताको खोजिमा
भौंतारिएकी जयमायाको कथा ।

अब एउटा नयाँ कथा पढ्ने रहर छ ।
तिम्रै आँतले लेखिएको,
उच्च उच्च आकाश भरी देखिएको
एकमुठ्ठी तिम्रै स्वभिमानले
सिङ्गो विश्व उचालेको
नयाँ कथा पढ्ने रहर छ ।
तिम्रै हातले लेख्ने छौ त्यो कथा
भन्ने मेरो ठहर छ ।
अब एउटा नयाँ कथा पढ्ने रहर छ।।

गजल

गजल
-------------
पिँउथें म पनि जमानामा, प्यालैमा डुबिकन
सिँउने गर्थें  फाटेको मन गहिराईमा डुबिकन ।

जसै उमेर ढल्दै गयो, जवानिपनी गल्दै गयो
खै के हो आजकाल, रुन्छ मन बिरहमा डुबिकन ।

कहिले कहिँ सम्झन्छु म ति झुपडिका दिनहरु
फस्टाएकै थियो भाषा-साहित्य उत्सर्गमै डुबिकन ।

कलिलो मूना म पनि रुझेकै थिँए ऊनैको प्रेममा
क्या आनन्द,बग्न पाउँदा तिम्रै भावनामा डुबिकन ।

चल्छ ईन्द्रीयहरु अझै पनि त्यही भाकामा भने
आऊ सङ्गी रमौं फेरी त्यही मीठो  उमङ्गमा डुबिकन ।


अबोला मान्छे

न श्रावण,
न झरि,
न वर्षात !!
यती धेरै उपमा के दिई रहन्छौ ?
म त शान्त, क्लान्त
संघर्षरत एक अबोला मान्छे हुँ ।

नसकौं फुर्क्याउँन कहिल्यै कसैलाई,
नजानौं घुर्क्याउँन कहिल्यै कसैलाई,
म त मेरै नियतिमा जोतिएको
पथिक एक अबोला मान्छे हुँ ।

न हाँसो छ, न गुनासो छ जिन्दगीमा,
यात्रामा भेटिएका अनगन्ती सहयात्रीहरु
तिरस्कृत आफु, न पीर न व्यथाको
बेस्वादको एक अबोला मान्छे हुँ ।

कसैले सर्काई रहनु पनि पर्या छैन,
कसैले थर्काई रहनु पनि पर्या छैन ।
म त मेरै गतीमा चल्ने,
मन्द बतास, एक अबोला मान्छे हुँ ।

श्रद्धाञ्जली

                                        ( अनुदित कविता : अंग्रेजीबाट)
                                                        -- ओस्कार वाईल्ड
बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी 
हिउको थुप्रो मुनि,
सुस्तरी बोल्नुहोस्,  सुन्न सक्छिन् उनी
डेजीहरू उम्रेको पनि।
उनका चमक्दार सुनौला केशरासी
खुईलिएको छ खियाले,
थिईन उनी कलिली अनि गोरी
मिलेकी छन् धुलोमा अहिले ।
लिली जस्ती, हिउँ भन्दा गोरी
जो उनले बिरलै जानिन्,
भईन् उनी एक नारी
सुन्दरतामा जसै हुर्किन उनी ।
कफिन् भित्र राखी, भारी पत्थर
छ उनको छातीमा,
म एकान्तमा वहलाँउछु मेरो हृदयलाई
उनी अहिले विश्राममा छिन् ।
शान्त, शान्त,  उनले सुन्दिनन्
कुनै विणा वा गजलको राग,
मेरो सारा जीवन यहीँ पुरिएको छ
दिनुहोस् मट्टी यसमाथि उनिलाई  ।

                                          --अनुवाद: प्रतिमान सिवा

डलर

फलेको भए रुखमा डलरको नोट्
मै पनि लगेर रोप्ने थिँए त्यस्को बोट ।

दिन्थें तिमीलाई टिपेर बोरामा खाँदि-खाँदी कन
तर त्यस्तो बिचित्र कहाँ हुन्थ्यो, लौ भन ।

रगत र पसिनाको सागर बगाएर
मेहनत गर्नु पर्छ निद्रा सरी, ध्यान लगाएर ।

तब मात्र बल्ल लाग्छ चिचिला डलरको सानो
त्यही पनि मुटुनै दुख्ने गरी चिमोटी दिन्छ दानो ।

बाँकी उब्रे-पाब्रेको डलरको आधा नोट्
सकिन्छ टाल्दा टाल्दै महङ्गिको चोट ।

लौ भन अब कहाँबाट दिउँ म तिमीलाई
सक्दिन अब बगाउँन डलरको भेल तिमीलाई ।

मान्छे

 मान्छे……………………
कस्तो होला है मान्छेको जात………… ?
भित्र………. भित्रै,
घमण्ड र अहङ्कारले,
जलेर खरानी हुँदा पनि
बाहिरी शृङ्गार घस्न छोड्दैन ।
नयाँ-नयाँ पहिरन्,
सुनका औंठी र हार्,
अत्याधुनिक मोबाइलले
सजिएर आकाशको तारा झैं
चम्किन खोज्छ मान्छे……………..,
तर समयमा टिप्न नभ्याएको
करेसाबारिको टमाटर झैं
भित्र..... भित्रै सडिएर गली सकेको मान्छे
अरु कती टल्किन खोज्दो रहेछ हेरौं………………..?

भरुवा बन्दुकको नालिबाट निस्केका
छर््रा गोली झैं
बिषालु शब्दहरु मुखबाट ओकल्छ,
अर्काको प्रगती देखेर आरिसले
मन्मनै पिल्सिन्छ मान्छे……………….,
कस्तो होला है मान्छेको जात…………………. ?

न त आफु गरिखाने,
न त अरुलाई गरिखान दिने,
कसरी हुन्छ अरुलाई पछारी आफु अगि हिड्ने
कस्तो होला है मान्छेको जात………………………… ?

सजाउँछ मखुण्डो मुष्कानले,
सार्दै अघी मित्रताको हात,
भर्दछ हृदय प्रतिशोधको रापले
भन्द्दै कहिले तेरो मृत्युको रात………..?
कस्तो होला है मान्छेको जात………………….. ?

मिन्स्ट्रेल मिन्स्ट्रेल ( Minstrel Man)

                          -अनूदित कविता (अङ्ग्रेजीबाट)

                        --ल्याङ्ग्स्टन ह्युज्स ( Langston Huges)

                   
मेरो मुहार

हाँसोले भरिएको छ भन्दैमा,

र मेरो कण्ठ

गीतले भरिएको छ भन्दैमा

तिमीले सोचेनौं कि

म पनि दुखी हुन्छु

यती देरै पिँडाहरु

यती लामो समय सम्म

दबाएर राखेपछी ?



मेरो मुहार

हाँसोले भरिएको छ भन्दैमा,

तिमीले सुन्दैनौ

मेरा भित्री रोदनहरु ?

मेरा पयरहरु

नृत्यमा उल्लासित छन भन्दैमा

तिमीले जान्दैनौ कि

मेरो पनि मृत्यु हुन्छ ?


सपनाहरु !!!

रातो अनुहार.........
रातै कान.........
अनि,
रसिला आँखा पारेर
जिब्रो पड्काँउदै....
उनले भनिन्
"वाह् !!! क्या मीठो !!"
एक कचौरा सपनाका
अनी
अर्को कचौरा कल्पनाका
सुकुटिहरु भुटेर
रसिला..  अनि नुनिला...
आँशुका तप्कनिहरुमा
मुछेर  टोक्दै फेरी भनिन्
"वाह!!! क्या मीठो!!"

मलाई धेर नजिस्काऊ
मलाई धेर नदुखाऊ,
हैन भने,
म पनि....
'राज भाई' झैं
सपना र कल्पनाहरु
मेरै भित्रास सङ्ग
परपरी भुटेर
ज्यानमारा खोर्सानी सङ्ग साँदेर
तिम्रै अगाडि, तिम्रै सामुन्ने
कुरुम-कुरुम..... चपाइदिन्छु ।

मैले जस्तै उनले पनि
सपनाका बगैंचाहरु सजाएकी थिन ।
कती फुले, कती फले,
त्यसको लेखा जोखै भएन ।
तर एउटा भने
कस्तो हो कुन्नी
सुम्सुम्याउंदा-सुम्सुम्याउंदा
भुतुक्क थाकेर बस्छिन्,
जब छोरीले 'हरियो' के हो ?
अझै बुझ्दिनन ।
अनि
कचौराको सुकुटी टोक्दै
फेरी भन्छिन्
"वाह् !!! क्या मीठो !!"

अधिक पढिएको