सहिष्णुता

हेर भाई !!
म जान्दछु कि
तिमी गोरो छौ, म कालो छु ।
म मान्दछु कि
तिमी होचो छौ, म अग्लो छु ।
तिमी ढुक्कले जिउँनु , म आनन्दले जिईउँला  ।
तिमी मन्दिर रोज्नु, म गिर्जा खोजौँला,
आखिर एउटै हिमालका सन्तान हामी,
किन लडाँई गर्नु दागा धरि-धरी ।
पतङ्ग हामी एउटै ओड्छौं,
भाषा हाम्रो बन्धन जोड्छौँ  ।
आस्था-आस्थामा अनेक छौं हामी,
सहिष्णुता राखौं  हाम्रो असल बानी ।

प्रेम सम्बाद

नसुर्ताऊ प्रिय,
मेरा कविताहरु,
सुनाखरी  भएर फुलेका दिन,
अक्षरहरुको थुँगा-थुँगा उनेर,
तिम्रा चौबन्दिको तुनाहरुमा
बिस्तारै सिउरी दिँउला,
र तृप्त म त्यसै भैजाउँला ।

न रिसाऊ प्रिय,
म मेरो कविता भएर,
अखबार भरी खुलेका दिन,
छन्द-छन्दमा नारिएर,
तिम्रो जीवनको पाना भरी
रस र अलङ्कार लेखिदिउँला,
र तृप्त म त्यसै भैजाउँला ।

नडराऊ प्रिय,
मेरा कविताहरु
हिम्चुलिबाट स्वछन्द बग्ने
झरना भै झरेका दिन,
अक्षरका छिटा-छिटाहरुमा
स्वतन्त्रता बोकी,
तिम्रै शरिर भरी छचल्किदिउँला,
र तृप्त म भैजाउँला ।

भोक

खै ?
काउकुती लागेको हो कि ?
भि....त्र कतै कट..क्क दुखेको हो ?
शरिरमा रहर हराए जस्तो,
ओठ सबै कलेटी परेर कस्तो ।
दया आफै मागिरहे जस्तो ।
निस्तेज् !
निस्तेज् !!
फुस्रा ति नजर तिखा,
एक टक अडिएका छन्,
साहुजीका चिल्ला, रसिला समोसामा ।
सारा जगत शुन्य छ उसलाई,
बस !
एउटै भयो उसलाई शोक,
सधैं पराजित भैरहयो  ,
सायद यस्तै हुँदो रहेछ भोक ।

मेरो बेग

म,
कुना-कन्दराबाट
थोपा-थोपा हुँदै,
भदौरे खहरे भएर
ढुँङ्गा-मुँडा सङ्गै बगेको भेल,
आज,
मिसिसिप्पी र मिजौरी  भएर
बग्दैछु मुल्धारको बेगमा,
विशाल महासागरमा,
आफ्नो अस्तित्व खोज्दै,
आफ्नो रङ्ग र सुगन्ध रोज्दै ।
            बग्दैछु .......
निरन्तर बग्दैछु ........।

आलु कविता

यदी,
म आलु हुनु हो भने,
मुहान उत्पादन भत्काँउदा,
जरै सङ्ग उखेल्दा,
घाममा बेस्सरी सुकाँउदा,
तिम्रो चित्त नबुझेर ,
छिल्का-छिल्का तास्दै,
छाला काड्दै,
चोक्टा-चोक्टाको
आयतन नाँप्दै /जोख्दै,
घृँणाले थुक्दै/ छाद्दै
आवेगले  टोक्दै,
चक्-चक् चकनै-चकना  पारेर
काट्थ्यौ होला,
मेरो अङ्ग-अङ्गहरु,
अनी चाम्लिमिथाङ्गको चौरी भरी
सुकुटी बनाएर सुकाउँथ्यौ होला ।

मेरा पातका झण्डाहरु,
मेरा डाँठका राष्ट्रीयता,
मेरा जराका नागरिक्ताहरु,
विषालु राग बनेर,
तिम्रा लागी फगत बित्थाहरु,
जाबो मिथ्यहरु हुन्थे होला ।

हुन त,
छिल्काका खास्टोहरु,
डाँठका झुसहरु,
छ्यान्द्राका आँखि-झ्यालहरु,
बग्रेल्ती छन तिम्रा आँगन भरी,
खोई के नै गर्न सक्यौ र ? ?

हरायो !!

जुन साँझ स्याल करायो,
त्यही रात टाट्नाबाट,
सुन्दर र सौम्य मेरो
जेठो भेँडो हरायो ।

भ्याँ...भ्याँ....गर्दै
आफै कराउँदै,
अरुलाई पनि चराउँदै,
बालक जस्तै हाँस्ने,
चालक जस्तै हाँक्ने,
दुई शब्द खुशी बोल्दिए,
अत्यान्तै आनन्द रमाउँने,
मेरो टाट्नाबाट,
जेठो भेँडो हरायो ।

देख्छु उसलाई बथानमा संधै,
नापी जोखी हेरें सबै तिर,
भेटिन्न जेठो कतै उनि भित्र ।
तर,
यसु भन्नु हुन्छ,
खोजेर हेर ! छामेर हेर !
सबैको सम्बोधनमा अल्झिएको,
कसैको प्रहारमा बल्झिएको,
तेतै छ  तेरो जेठो भेँडो ।

छोरो

आज,
मेरो सगरमाथा फेरी हाँस्यो ।

टुक्रा-टुक्रा देश बोकेर,
यत्र-तत्र मिसिएको अक्षांसहरु
नानु ! तिम्रो मुस्कान सङ्गै
फेरी सिङ्गो भुगोल बाँच्यो ।
मेरो सगरमाथा फेरी हाँस्यो ।

मेरो जिवनको धरहरा
तिमीसङ्गै ब्युँतिएर
ड्याफोडिल्सको टुप्पा-टुप्पामा
मखमली र सयपत्री नाँच्यो ।
नानु ! तिम्रो मुस्कान सङ्गै
मेरो सगरमाथा फेरी हाँस्यो ।

मध्यरातको अन्धकारमा
एक अन्जुली चिराग चोरी ल्याँउने
धिप्-धिपे जुन्किरिसङ्गै
म तिम्रो बुडो रुख अनि
तिमी मेरो सान्नानी ,
रहरै-रहरमा जिवन बाँच्यो,
आज,
मेरो सगरमाथा फेरी हाँस्यो ।

फेरी म विस्थापित भए कि कसो ??

हिँड्दा-हिँड्दै गरेको गोरेटो
आज कतै अल्झियो कि ?
फुल्दै-भुल्दै गरेको बन्धन
आज कतै बल्झियो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?

तोकि-बोकी हिँडेको लक्ष्य
आज कतै गुम्यो कि ?
आकाश -धरती जोडने सपना
आज कतै भुल्यो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?

आजको प्यारो भोलिको बिरानो
सन्दर्भ पुरानै हो कि ?
जे हुन्छ असल हुन्छ भन्ने
सत्य नै पो हो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?

कालीलाई प्रश्न

ए काली !
मेरो जैविक गणितमा,
दाम्पत्यको कुन साध्य मिलेन र ?
अमेल बन्छ हाम्रो बर्गमूल ?

ए काली !
मेरो जिजिविषाको रियाजमा
लालित्यको कुन पराग मिलेन र ?
अराजक बन्छ हाम्रो सम्बोधन ?

ए काली !
तिम्रो आवरणको अनावरणमा
सुर्कुनाको कुन तुना खुस्किएको छ र ?
त्यतै ताक्छन उनिहरुको  तन र मन ?

कस्तो ??

बल्यो/बोल्यो,
तुसले बोल्यो,
गुप्त र गहिरा कुरा खोल्यो,
भृङ्ग- भ्रामर नभ नै पोल्यो ।

मीठा र छरिता लाग्ने,
मृदु-मुस्कानले ढाक्ने,
उवाच उसको ऊरले,
गर्दै रहयो प्रहार एक सुरले ।

छाम्दै-डाम्दै बिचरा भन्दै
पटकै पिच्छे भन्दै गन्दै
रमाउँछ बनाउँदै कसैलाई रुष्ट,
हे ईश ! किन भ्रमाउँछ  यो दुष्ट ।

शब्दमा ध्यान देऊ !

मन्नाको गाँस हसुरी
मुर्राको छन्-छन् खाने
म ईस्कारियत होईन ।
लाल-नदी फाड्ने
मेरो मोशाको छडि
खै कसको हातमा पर्‍यो
मलाई थाहा छैन ।
अर्पण समर्पणको भएपनि
बर्तिमै पक्कै म भैँईन ।
छदमको कदम चाल्नेहरु
ठालु हुँ भन्दै
एक कदम अघी र एक कदम पछि
बराबरको तेजमा सर्छन ।
जती भागे पनि
योजनामा परेको योना झैँ
सबैले टेक्नु छ घुँडा एकदिन ।
मात्र तिमी मीठो मुस्कानलाई होईन
वाँणीका प्रतेक शब्द शब्दलाई ध्यान देऊ ।

आत्माहत्यको सफल प्रयास

तपाईंले याद गर्नु भा' छ ? ?
आजकाल तपाईंको 'ड्राइभ्वे'मा
कोही पनि ओहोर-दोहोर गरेको देखिँदैन ?

-  -  -  -  -  -  -  -

एकजोर फुटेका कुर्कुच्चा बोकेर
पिटिक्-पिटिक्, पिटिक्-पिटिक् गर्दै,
तपाईकै 'नेबर्हूडमा ' ओहोर्-दोहोर गरिरहने,
एकजोर फाटेका चप्पल
तपाईंकै 'ड्राइभ्वे' सम्म
दिनहुँ आउँथे अनि जान्थे
.........आउँथे अनि जान्थे ।

- - - - - - - - - - - - -

यस विशाल मुलूकको बक्ररेखामा
बिलाएका आफ्नै अनगन्ति,
टाटे-पाङ्ग्रे ढाका टोपीहरु ,
ठुङ्ग्दा- ठुङ्ग्दा भुत्ते भएका
धार बिहीन सिरुपातेहरु
अनि
टाउका बिहीन मजेत्राहरुसङ्ग
दोहोरो वार्ता गर्नु छ भन्दै
मच्ची मच्ची कराई रहन्थे ।

- - - - - - - - - - - - - - - -

कार्यलय देखी मझेरीसम्म चाहिने दोभाषे
छोराको 'म्यान्डेटोरी', भ्याउँदै नभ्याउँने,
छोरीलाई  राम्रोसङ्ग नेपाली भाकै नआउँने,
कुन्ठित वेदना, अविरल आँसु बोकी
सुँक्सुकाउँदै पश्च्ताप बगाईरहन्थे,
"ऊ ! पागल आयो भनी सबै डराउँथे,
छी छी दुर-दुर गरी सबै कराउँथे ।

- - - - - - - - - - - - - - - - -

सामाजिक सन्जाल 'फेसबुक्' भरी
'बिसिसिले' एउटा दुखद समचार छाप्यो,
कसैको 'बेस्मेन्ट्'को 'फर्नेस्' छेउमा
अमेरिकि झण्डा एक हातमा लिएर
एकजोर फुटेका कुर्कुच्चा
एकजोर फाटेका चप्पलसङ्गै झुण्डी रहेको थियो,
आत्मा हत्यको सफल प्रयासमा ।

- - - - - - - - - - - - - - - - - -

तपाईंले याद गर्नु भा' छ ? ?
आजकाल तपाईंको 'ड्राइभ्वे'मा
कोही पनि ओहोर-दोहोर गरेको देखिँदैन ?

विभ्रम

एकदिन,
उसले जिन्दगीलाई नियाल्यो ।
सुन्दर देख्यो,
राम्रो देख्यो,
आकर्शक देख्यो ।
अनि,
उत्तेजित भयो,
कामुक भयो,
प्राप्तिको आकाङ्क्षा चुलियो ।

बलात्कारी हृदयले
च्यात्यो,
नंग्यायो
निचोर्यो,
चिथोर्यो,
चाट्यो,
चुस्यो,
लालची गिद्धले झैं ।

अनी बोल्यो जिन्दगी ।
"म त तिम्रै अर्धाङ्गिनी हुँ ।
सदैव तिम्रै हुँ ।
तिम्रा लागी सधैं
खुल्ला छु,
समर्पित छु ।
तिमी मलाई
पिशाच भएर होईन,
मानव भएर भोगी हेर,
तिम्रो उत्तेजना अरु बडेर जानेछ" ।

अघिको तृष्णा,
अघिको चहाना,
अघिको कामुकता
सबै घृणा बनेर पग्लियो ।
यो कस्तो विभ्रम !!

दार्जिलिङ्ग

आज फेरि,
दार्जिलिङ्ग लुकेन पनि,
अनी झुकेन पनि ।

स्थानको खोजिमा,
पहिचानको खोजिमा
अधिकारको खोजिमा
म जस्तो कही पनि झुकेन ।

तातो र रातो
रगतको आहुती
बगाई रहयो ।
जाऊ दार्जिलिङ्ग जाऊ,
कदममा कदम मिलाई
बड्दै बड्दै जाऊ ।

ह्यप्पी फादर्स डे

मन्जरी भरी फुलेको लाली गुराँस झैं
सन्तानका नजर भरी खुलेका ति मुहारहरु
अनगन्ती वेदनाका शूलहरु छाती भरी लुकाएर
उनिहरुका अगाडी हरपल मुस्कुराउँदै
"सुपरम्यान" बनेका हरेक बाबुहरु
मौनतामा भित्र भित्रै रोईरहेछन्
अभाव र असफलतालाई आँसुले धोईरहेछन् ।

घरको बाबु,
डाको छोडेर क्वाँ-क्वाँ रुनु पनि नहुने
गती नै छाडेर लमतन्न हुनु पनि नहुने
"आज छैन नानु, भोकै सुतौं" भन्न पनि नहुने
जस्तै परिस्थितिमा पनि परिवारलाई सम्हाल्ने
घोटिँदा घोटिँदै आफु खिईएको पनि थाहा नपाउँने
धन्य ति हरेक बाबुहरुलाई
घरको धरहरा, वचनको रखवाला
सदैव आशिषले भरुन सम्पुर्ण बाबुहरुलाई ।

गोर्खाल्याण्ड

युगौं देखी पुर्खाहरुको हड्डी सङ्गै
पहाडको थुम्का-थुम्कीहरुमा
अनी भन्ज्याङ्ग र घुम्तीहरुमा
जरा गाडेका पोथ्राहरु
आफ्ना कलीला मूनाहरु
टपक्  टपक्  टिपेर लगी
ताजगीको स्वादमा सुर्की लाउँदा पनि
चुप-चाप शान्त रहने ति चियाबोटहरु
आज एक देखी अर्को झोसिँदै, सल्किदै
एक विशाल मशाल जुलुस बनेको छ......
जुन्किरीको हिमनदी झै
पाखाभरी बग्दै ओरालो झरेको छ ।
तिरङ्गाको खातिर एल्० ओ० सि० मा ढलेको जवान
"गोर्खाल्याण्डको" खातिर फेरी जन्मदै छ ।

एउटा गजल: सिकारु

लुक्दै-छिप्दै चियाउँदै आउँछिन उनि
रात बिरात सपनीमा सधैं धाउँछिन उनि ।

मेरो माया अजम्बरी हो कि होईन
जोखी तौली जाँच्न भ्याउँछिन उनि ।

थकित क्लान्त मेरा दर्दहरु मेट्न
झल्झली आँखामा सल्बलाउँछिन उनि ।

आज यो अन्धकारको निष्पट रातमा
म सिकारु प्रेमीलाई रुवाउँछिन उनि ।

खै कहाँ कता गईन एकान्तमा तड्पाई
मलाई छोडी खै किन हराउँछिन उनि ।

नोस्टाल्जिया

थोक, पल, समय
जो बिते तिनै जाति
त्यो कलीलो माया झनै जाति ।

सम्झन्छु !
टोटलाको पंखा फिरिरिरि  घुमाएर
पेमा-डाडाभरी बुर्कुसी मार्न पाए हुन्थ्यो।

नाङ्गलाको बिटलाई खिरिरिरि  गुडाएर
मेला-बजार भरी दगुर्न पाए हुन्थ्यो।

गोठालाको भुण्टिको सिंगाने गालामा
एक चुप्पा मोई फेरी खान पाए हुन्थ्यो ।

भोर्ला खोल्सिको किनारमा लमतन्न भै
न्याउलको बिरह गीत फेरी सुन्न पाए हुन्थ्यो ।

समयको चक्रव्योममा फिरिरि  घुमेर्
तीस वर्ष पुरानो छाँयामा फेरी रम्न पाए हुन्थ्यो ।

गन्-गन्

आज एकबिहानै
किन गर्छौ तिमी गन्-गन ?
कसैले तिमीलाई
नेपाली होईन भन्यो कि,
ममताकी खानि, सृस्टिकी रानि
स्त्री होईन भन्यो तिमीलाई ?

चौबन्दी नलाएपनि,
गुन्द्रुकै नखाएपनि,
जनजिवनको शैलिमा
मात्री भाषा बोलेकै छौ ।
सुमधुर लोक भाकामा
तारा बाजी ल्यै ल्यै
गुन गुनाएकै छौ,
बाह्रखरी अहिले सम्म धानेकै छौ ।
अनी फेरी किन गर्छौ तिमी गन्-गन ?

फुकेकै छ नितम्ब् तिम्रा
उठेकै छ छाती तिम्रा ।
भरिएको तिम्रो गर्भमा
बिर्य त लोग्नेकै भएपनि
रगत र मातृत्त्वो त
तिमीले नै सिन्चिएकी छौ ।
अनी फेरि,
आज एक बिहानै
किन गर्छौ तिमी गन्-गन ?


मेल अमेलको जिन्दगी


रिस,
आवेग
र अन्तरद्वन्द ।




अधिक पढिएको