अनुरोध

कुरो पुरानै हो,
बाबैले गीत त गाए
"बनको काँडालाई तिखार्नु पर्दैन," भनी
तर बाबु,
तिमी नेपालीनै भए पनि
तिमीलाई काटी-छाँटी,
ताछी-तुछी
नेपालीपनको आकारमा
तिखार्नै पर्ने भयो ।

रिसाउँन चै नरिसाउ,
साहित्य त त्यस्तै हो बाबु,
भाषामा अलिकती मन बिसाउ ।

मसिना हाम्रा लाला-बाला
जस्तै रहेपनी चाला-माला
भोलिका कर्णधार हौ तिमी,
आमाले बोलेको
तिम्रै हो बाह्रखरी
मनै नपरे पनि
सिक्नै पर्छ सबैले अलि-अली ।
रिसाँउना चै न रिसाउ बाबु
अनुरोध छ मेरो
सिक्नै पर्छ सबैले
 भाषा र साहित्य ।


खबरदार

खबरदार .............. !!!
सतर्क रहनुहोस   !!!
यहाँ पाईलामा पाईलामा,
जिन्दगीका प्रतेक कुँईनेटामा,
पलभरमै रङ्ग बदल्ने भाले-मुङ्ग्रो जस्तै
छिन्भर मै कुरा बदल्ने
एउटा "ऊ" लुकेको छ ।

खबरदार .......... !!!
होसियार रहनुहोस.    !!!
पल-पलमा
तपाईंका हरेक उठ-बसमा,
मखमली जस्तै मीठो मुस्कान छर्ने
मौका मिल्दा सर्वस्व हर्ने
एउटा "ऊ" लुकेको छ ।

खबरदार  .......... !!!
तयार रहनुहोस्     !!!
यहाँ मित्रताको मखुण्डो भिरेर
घमण्ड र अहङ्कारको रङ्गमन्चमा
दोहोरो जिवन जिउँने
एउटा  "ऊ" लुकेको छ ।

गजल

गर्दै जाँदा, जिन्दगीमा नचुकेको को छ र ?
एकान्तमा लुकी, आँसु नपुछेको को छ र ?

जती नै हाँसी हिँडे पनि खुशीयालिमा,
हृदय भित्र-भित्रै नदुखेको को छ र ?

मानिस हुन सबै संवेदनशील   प्राँणी,
विशाल हृदय पनि नटुटेको को छ र ?

सारा विश्वनै जितेर महानता चुमे पनि,
स्वास्निको  अघी नझुकेको को छ र ?

सफलताको सिँडी सबैले चड्दा सम्म,
कैशोर्यमै सपनाहरु नफुटेको को छ र ?

पागल

हो,
पक्कै म पागल भएछु क्यार !!!

मेरो मन,
मेरा आँखाहरु,
मेरो देह
सबै पागल भएछन् क्यार  !!!

हिँजो सम्म
असल देखिएको,
सुन्दर लेखिएको,
राम्रा  मानिएका,
नजिक ठानिएका
सबै .......सबै ........सबै .......
रातो ....पिरो .... निलो ...... कालो .....
फुलाईएका बलुन झैं
ढुस्स, अँध्यारो, चकमन्न देख्छु ।

चाप्लुसीको मैन मिसाएर,
विषादी माया फिँजाएर,
सबै हुँङ्कार बोल्छन् ।
घमण्डका ज्वाला उगेल्दै
भ्रमका खेती मोल्छन् ।

भित्र-भित्रै अहम बालेर
तुँवालोमय देखाउछ ऊ मुहार ।
इर्ष्यका मुस्लो उडेर
अदृश्य दृश्य र दृश्य अदृश्य बन्छ
तेसैले,
म पक्कै पागल भएछु क्यार !!!

उसले मेरो देख्छ,
म उसको देख्छु ।
मनस्थितिको तापक्रम जोडेर
अदृश्य डढेलो उसको छातिमा देख्छु,
अनी घोचा-पेची लेख्छु ।
कुरुप बिचार्,
अस्वास्थ्य मनस्थिति,
म ....तिमी .... अनि ..... ऊ ...  सबै
गजधम्म फुलिएको देख्छु ।
तेसैले,
 पक्कै म पागल भएछु क्यार !!!

सपना

रात,
मेरो निंद्रा
सापटी लगेर
गुम्लुङ्ग निदाएपछी ।

धुन,
सारङ्गीको तार सङ्गै
स्तब्ध, चुँडिएर
बुर्कुसी उफ्रिए पछी ।

शितल,
कोमल बनेर
काँडा उम्रने गरी
अङ्ग-प्रत्यङ्ग भरी
सर...र.... र छरिए पछी ।

उन्माद,
ठाडो सिँडी चडेर
योद्धा म सिरुपाते तरवार,
विश्व अटाउने सागर
झिलम तिमी झ... र..... र
पग्लियो वैंश निवश्त्र
सबै तरल..... तरल बनेर ।

बतास,
सुस्केरा सरी
सर्माउदै सुटुक्क निस्किदिन्छ
परेलिका डिलहरुबाट
उम्केका सपनाका शालिकहरु
युद्धबिरामको घोषणा फर्फराउदै ।

धर्म ?

धर्म.......  ?
के धर्म ....... ?
तेही धर्म ओडेर त हो नि,
हिँजो तिमीले,
बलेसीमा पिरा ओछ्याएको,
धारो फेर्नु भनेको,
अनी तिमी आँउदा
भुँई तिर हेर्नु भनेको ।

देउता रे....... !
तेही पनि ढुङ्गाको,
तर,
छेउ नपर्नु रे...... !
धन्न रहेछ मेरो विबेक उबेला..... !

धर्म...
कृया न हो,
धारण गर्नु ।

अझै पनि म,
धर्म गरी रा'छु नि ।
बारीमा रात्तै फलेको खुर्सानी
सित्तैमा बाँडी रा'छु,
माईला बालाई हप्तै पिछे
अस्पताल लगि रा'छु
जन्तरीलाई दिनै पिछे
क्रोगर लगी रा'छु ।

के..... ?
मैले धर्म परिवर्तन गर्या भन्ठानेको ?
होईन......,
पटक्कै होईन ।
मैले त.....
मैले त.....
विस्वास परिवर्तन गर्या हो ।
आस्था परिवर्तन  गर्या हो ।
तिमीलाई,
जे भन्नु छ भन
मैले विस्वास परिवर्तन गर्या हो ।

मुघेरिलाल

हाड र मासुलाई
छालाका रेशमि
वस्त्रले मोरिएको,
रातो रगतको नदिमा
'अक्सिजन'
जीवनको ईन्धन बोकेर
ऊर्जा भर्दै अङ्ग-अङ्ग भरि
सन्चार हुँदाको मान्छे म,
म मा
१००% शुध्दता पनि छैन,
१००% अशुध्दत्ता पनि छैन
किन कि म मान्छे हो ।

कल्पनाहरुले घुम्टो ओडेर
लुकि-छिपी गर्दै 'हलोइन्' मनाउँदा
बहकिदै, 'मुघेरिलाल' बन्नु स्वभाविक हो,
किन कि म मान्छे हो ।

परिवर्तन्शिल छ समय
विवेक त झन चुट्की भरमा ।
यहाँ
छेपाराले भन्दा छिटो
रङ बदल्न स्वभाविक भो,
किन कि म मान्छे हो ।

म मर्दा

उम्कदैको, स्मृतिको थैलिमा,
पोको पारी राखेको उबर- पाबर
वैंश पो लिएर जाऊँ कि....?
दिन-रात नभनी,
लाला-बालालाई,
आईप्याड (IPAD) र ल्याप्टपको(LAPTOP)
भरोसामा छोडी, आर्जेको
सारा खुशीहरु खरिद्ने
अचुक सम्पतिको पोको,
एटीएम(ATM) कार्ड पो लिएर जाऊँ.... !

धिरी भरिको पानी झै,
टिल्पिल-टिल्पिल  छचल्किने,
तिम्रा ति स्नेहिलो
उन्माद पो लिएर जाऊँ कि.....?
कलीला ति ओठहरुमा
सजिएको सङ्गित- सरगम झै,
'बाबा' शब्दको
झङ्ग्कार  सगै गाँसिएको
उनिहरुको मुस्कान लिएर जाऊँ.....!

शाखा-सन्तान, बन्धु- बान्धव
र ईष्ट-मित्रहरुको
तितो-मीठो माया  पो लिएर जाऊँ कि.....?
दुश्मन-वैरिहरु सङ्गको
रिस-राग र
प्रतिशोधका  ज्वालाहरु लिएर जाऊँ......!

धर्म-कर्मले भरिएको
एक झोला पत्थरहरुको
सङ्गालो लिएर जाऊँ कि......?
अनन्त-अनन्त सम्म गुन्जी रहने
तुरहिको भँगालो लिएर जाऊँ.....!

यती सुन्दर शरिर
उत्पतिलाई पछ्याउँदै,
धुलोमा मिल्ने निश्चित नै हो,
अलिकती ह्याण्ड ब्यागमा,
अलिकती  लग्गेजमा,
बाँकी खै केमा लिएर जाऊँ......?
अनी
खै के के पो लिएर जाऊँ......?

अनन्त यात्रा

गोधुँली भरि
शिरबन्दी फिँजाएर
क्षितिज पारी... पारी....  सम्म
बिरहको मनलहरी गुन्गुनाउँदै
बाटा भरि
रित्तो आँचल ओछ्याएर
निस्ताई रहेकी देखेर त म,
अन्धा-धुन्दा हाम फालेर
सम्मोहित ति
नजरमा नजर हालेको थिँए ।
मनका सबै तरङ्गहरु  चालेको थिँए ।
अनन्तको यात्रा थालेको थिँए ।

एउटा मुक्तियार चाईयो

जब,
पेमाडाँडाको मूलबाटो हुँदै
आफ्नै मौनतामा मस्त,
सुस्ताई रहेको गाऊँलाई
"भो......ली  भे.........टा*   ..... है.... !!" भन्दै
चर्को स्वरमा ऊर्दी लगाउँदै
सारा गाऊँलाई बिउँझाउंथे
मुक्तियार-सिरुपाली बाबै,
तब,
सिङ्गो गाऊँ जाग्थ्यो ।
जोश जाँगरको पोको,
आफ्नो खेतलाई सिन्चने धोको,
लाग्थे सबै भेटा*  तर्फ ,
सबै मनाउदै खुशी र हर्क ।

यो फिरङ्गी मुलुक मेरो,
आशा भरोसाको खेतमा
एक पुस्ताको आयु बोकेर
अन्तिम घुट्को स्वास फेर्दै,
धरासयी बनेको मेरो मातृभाषा
आज,
तीनै मुक्तियारको पर्खाईमा छ ।

घर-घरमा, परिवार-परिवारमा, देश-बिदेशमा,
फेरी  एक पटक ऊर्दी लगाउने
तर,
भेटाको*  होईन,
भाषा-प्रेमको मूल फुटाउने,
नेपाली साहित्यस्तरलाई उठाउने,
सिरुपाली बाबै,
मलाई फेरी चाईयो ।
ऊर्दी लगाउने,
एउटा मुक्तियार चाईयो !!
एउटा मुक्तियार चाईयो !!

*भेटा = सिन्चाई कार्यको लागी नदिबाट पानी थुनेर ल्याउने कार्यलाई भेटा भनिन्थ्यो दैफाममा । सायद यो अखमिया भाषाबाट आएको शब्द हुनुपर्छ ।नेपालमा हो भने पैनी फर्काउनु भनिन्छ ।

आजको युद्ध !!

चेतनाको चैतन्य
अचेत भएर चेत बोल्दछ ।
----------
इर्ष्यका घमण्डहरु
मपाईत्व बोकेर अहम बोल्दछ ।
----------
युद्ध र योद्धा
आफै सङ्ग्राम बनेर
पराजय विजय बोल्दछ ।
---------
साहित्य र स्रस्टा,
सृजना र सर्जक,
मतभेद र विभेदमा
विक्षिप्त विखण्डन बोल्दछ ।
अनि
नैरास्य पनि नि-रस निरास बोल्दछ ।

झन्जट

महङ्गी कती बडाउँछौ तिमी,
        यहाँ खल्ती चुहिएको बेला ।

शान कती लडाउँछौ तिमी,
       यहाँ इमान नुहिएको बेला ।

चुचुरा कती छुन्छौ तिमी,
       यहाँ सपना तुहिएको बेला

माया कती लगाउँछौ तिमी,
       यहाँ मित्रता कुहिएको बेला ।

असत्य कती बोल्छौ तिमी,
       यहाँ आन्द्रा-भुँडी दुहिएको बेला ।

किन कि ऊ मेरो दुश्मन हो !

कहिले कहि,
बेला मौका पारी,
एकान्तमा बसौंन भन्छ,
भला-कुसरीको निहु गरी
छल र कपट सरी
मेरो भित्री हृदयमा
सुटुक्क पसौं न भन्छ,
किन कि ऊ मेरो दुश्मन हो !

करासामा बसेर,
निग्रानीको नजर ताकेर,
म दुखेको बेला
झुटो सान्तवना बोकेर,
म चुकेको बेला
झुटो आश्वसन बोकेर,
सधै मलाई नियाल्दछ ।
मैले बिराएको बेला,
अरुले गिराएको बेला,
ऊ सधै नियाल्दछ ।
किन कि ऊ मेरो दुश्मन हो !!

कोल्रेन * (Colerain)

मन गाडेर बस्न पनि
त्यसै बिरानो लाग्ने,
छोडेर अन्त कतै जान पनि
यतै  मन अल्झी रहने,
खै,
यो ठाँऊ कस्तो हो कोनि,
बाँकी जिवन त त्यस्तै हो
आज हो कि भोलि ?
यही कोलोरेन् कै भो कोसेली ।

बिरानो लाग्द-लाग्दै,
पुरानो भैईयो ।
जान्दा-नजान्दै
सेतै हिँऊको थुप्रो र
रङ्गि-बिरङ्गी पातहरुमा
पिरतिको साईनो लाईयो ।
सानो मनको सानै शहर,
गोलन्टी **  नै नभए पनि
मेरै कोलोरेन रमाईलो ।


*कोलोरेन् (COLERAIN)- ओहाईयो( Ohio) राज्यको सिन्सिन्नाटी (Cincinnati) शाहरको एउटा सानो गाँऊ जहाँ मेरो बास स्थान छ ।

**गोलन्टि (GOLANTI) - दैफाम भुटानको एउटा सानो गाँऊ जहाँ मेरो बाल्यकाल बित्यो, जहाँ मैले सन्सार चिंने ।

अधिक पढिएको