आऊ आज,
यो सुन्सान साँझमा,
यो सन्नाटामा,
यो एकान्तमा,
तिमी र म
एक्दम सन्तप्त भएर,
विक्षिप्त भएर,
वेदनाका प्रलय बगाएर,
हिक्का-हिक्कामा बिलौना गाएर,
हामी शोक मनाऊँ ।
तिमी वर्मा र भूटान सम्झेर रोईदेउ,
म डिग्बोई र आसाम सम्झेर रोईदिन्छु ।
तिमी धने र न्यासुर सम्झेर रोईदेउ,
म जयमाया र मेरी आमा सम्झेर रोईदिन्छु ।
तिमी नेपाली र भूटानीको दोधारमा उभिएर रोईदेउ,
म भूटान, नेपाल र अमेरिकाको त्रीकोण भित्र पसेर रोईदिन्छु ।
तिमी पनि रोउ, म पनि खुब रुन्छु,
हाम्रो लट्पटिँदै गएको जिब्रोको समाधी छेउ,
लम्पसार परेर रोईदेउ,
म हाम्रा विस्थापित सपनाहरुको यादमा,
छाती कुटी कुटी रोईदिन्छु ।
आऊ प्रिय !!
हामी शोक मनाउँ ।
तिमी देशको लागी रोईदेऊ,
म भेषको लागी रोईदिन्छु ।
म तिम्रो लागी शोक मनाउँछु,
तिमी मेरो लागी शोक मनाऊ ।
No comments:
Post a Comment